जनताको पक्षमा लड्ने शक्तिले नै दुई तिहाइ ल्याउन सक्छ: वर्षमान पुन


२०८३ असार ७ आइतबार १०:३२ बजे

काठमाडौं :  नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताको पक्षमा र बेथितिविरुद्ध दृढतापूर्वक उभिन सक्ने राजनीतिक शक्तिले नै दुई तिहाइ जनमत प्राप्त गर्न सक्ने बताएका छन्। शनिबार पार्टीसम्बद्ध बुद्धिजीवी संगठनको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै नेता पुनले रास्वपाको उदयको सन्दर्भ उल्लेख गर्दै सो कुरा बताएका हुन्।

उनले रास्वपाले जस्तै नेकपाले पनि आफ्नो भूमिकालाई सशक्त बनाउन सके आगामी दिनमा दुई तिहाइ जनमत हासिल गर्न सक्ने दाबी गरे। "रास्वपाले नवयुवा आन्दोलनको स्वामित्व लियो र सुशासनका लागि संघर्ष गर्‍यो, त्यसैले जनताले उसलाई विकल्पको रूपमा देख्यो," उनले भने, "राजनीतिमा जो संघर्ष गर्छ र जनताको मुद्दा उठाउँछ, जनताले उसैलाई बहुमत दिन्छन्।"

नेता पुनले हालको सरकारले राष्ट्रियता, संवैधानिक अधिकार र संसदीय मर्यादामाथि प्रहार गरिरहेको आरोप लगाए। उनले थपे, "बहुमतको आडमा अध्यादेशबाट शासन गर्ने, नागरिक अधिकारमाथि अंकुश लगाउने, संसद्को अपमान गर्ने, ट्रेड युनियन खारेज गर्ने तथा सीमा अतिक्रमणजस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने प्रवृत्तिविरुद्ध हामी सशक्त रूपमा लड्नुपर्छ।"

लोकतन्त्रको पक्षमा आफूलाई सान्दर्भिक बनाउन सके मात्रै जनताले विश्वास गर्ने उल्लेख गर्दै उनले भने, "हामीले समाजवादी क्रान्तिका लागि निरन्तर संघर्ष गर्नुपर्छ, लड्यौं भने मात्र जनताले विश्वास गर्छन्।"

नेता पुनले ऐतिहासिक तथ्य प्रस्तुत गर्दै राणा शासन अन्त्यपछिको निर्वाचन, २०४७ सालको संसदीय निर्वाचन, २०६२/०६३ को जनआन्दोलन वा पछिल्लो समयको युवा आन्दोलन—हरेक कालखण्डमा शक्तिको दुरुपयोग र बेथितिविरुद्ध लड्ने शक्तिले नै जनमत पाउँदै आएको स्मरण गराए।

उनले गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्याय स्थापनामा कम्युनिस्ट पार्टीको निर्णायक भूमिका रहे पनि ती उपलब्धिको महत्त्व स्थापित गर्न नसक्दा पार्टीले रक्षात्मक बन्नुपरेको स्वीकार गरे। उनले भर्चुअल माध्यमबाट प्राप्त लोकप्रियता दिगो नहुने भन्दै जनताले नै सत्ताबाट लखेटेको इतिहास स्मरण गराए।

 उनले विश्वव्यापी रूपमै समाजवादी आन्दोलनको भविष्य समाप्त नभएको संकेत गरे। श्रीलंकामा कम्युनिस्ट पृष्ठभूमिको दलको पुनरागमन, न्यूयोर्कमा समाजवादी विचारधाराका युवाको विजय र युरोप-अमेरिकामा बढ्दो कम्युनिस्ट प्रभावले नेपालमा पनि समाजवादको एजेन्डा स्थापित गर्न सकिने आधारहरू प्रशस्त रहेको उनले दाबी गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७