शिक्षक महासंघमा ऐतिहासिक परिवर्तन : अब सबै शिक्षकले प्रत्यक्ष मतदान गर्ने
शिक्षा नियमावलीको १०औँ संशोधन लागू, प्रतिनिधिमूलक निर्वाचन प्रणाली अन्त्य हुँदै ‘एक शिक्षक, एक मत’को व्यवस्था
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्व चयन प्रक्रिया अब नयाँ ढाँचामा हुने भएको छ। सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेपछि महासंघको निर्वाचनमा देशभरका सबै शिक्षकले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यससँगै वर्षौंदेखि कायम प्रतिनिधिमार्फत मतदान गर्ने प्रणाली अन्त्य हुने भएको छ।
संशोधित नियमावलीअनुसार नेपाल शिक्षक महासंघको विधानमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। यसअघि विभिन्न शिक्षक संगठनले तोकेका प्रतिनिधिमार्फत मात्रै नेतृत्व चयन हुने व्यवस्था थियो। अब भने ‘एक शिक्षक, एक मत’को अवधारणा कार्यान्वयनतर्फ अघि बढेको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार नयाँ व्यवस्थाअनुसार महासंघको विधान संशोधनको तयारी सुरु भइसकेको छ। उनका अनुसार अब देशभरका शिक्षक प्रत्यक्ष रूपमा नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन्, जसले महासंघभित्रको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
संशोधित नियमावलीले महासंघको विधान दर्ता गर्नुअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहमति अनिवार्य गरेको छ। नियमावली लागू भएको ३० दिनभित्र मन्त्रालयमा विधान स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिमा स्वीकृतिका लागि पेस नगरिए त्यस्तो विधानले कानुनी मान्यता नपाउने उल्लेख छ।
यो व्यवस्था शिक्षक आन्दोलनका क्रममा सरकार र शिक्षक महासंघबीच भएका सहमतिहरू कार्यान्वयन गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। नयाँ प्रणाली लागू भएपछि महासंघको नेतृत्व सीमित प्रतिनिधिको मतबाट होइन, देशभरका शिक्षकको प्रत्यक्ष मतबाट चयन हुने भएकाले महासंघको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्वको वैधानिकता थप बलियो हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

