बलुचिस्तानको प्रहरी चौकीमा सशस्त्र आक्रमण, नौ प्रहरीको मृत्यु
इस्लामाबाद । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरीको मृत्यु भएको छ। घटनापछि केही प्रहरी अझै बेपत्ता रहेकाले सुरक्षा निकायले खोजी अभियान जारी राखेको छ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षामा खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो। घटनामा नौ जना प्रहरीको ज्यान गएको र केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले उनीहरूको खोजी भइरहेको उनले बताए।
बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले पनि घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशंका गरिएको छ।
घटनापछि अर्धसैनिक बल, प्रहरी तथा आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन्। आक्रमणमा संलग्न समूहको खोजी तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्।
खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकारले वर्षौंदेखि पृथकतावादी विद्रोही र सशस्त्र उग्रवादी समूहको गतिविधिसँग जुध्दै आएको छ। अफगानिस्तान र इरानसँग सीमा जोडिएको यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा सञ्चालित पूर्वाधार परियोजनामाथि पटक–पटक आक्रमण हुने गरेका छन्।
पाकिस्तानले सीमावर्ती क्षेत्रमा बढ्दो उग्रवादी गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ। तर अफगानिस्तानका अधिकारीहरूले त्यस्ता आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन्।
हालैका महिनाहरूमा पाकिस्तानले अफगान सीमावर्ती क्षेत्रमा हवाई आक्रमणसमेत गरेको छ। पाकिस्तानले ती कारबाही उग्रवादीविरुद्ध लक्षित भएको दाबी गरे पनि तालिबान प्रशासन र संयुक्त राष्ट्रसंघले ती आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
.gif)

.png)

