चेक रिपब्लिकदेखि माल्टा पठाइदिने भन्दै ठगी, ६ जनाको जाहेरीमा पाँच आरोपी पक्राउ

आकर्षक तलबको प्रलोभनमा विदेश पठाउने भन्दै ठगी


२०८३ भदौ ८ सोमबार १८:४३ बजे

काठमाडौं : आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा विदेश पठाउने भन्दै लामो समयसम्म झुक्याएर रकम लिने र विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–५ स्थायी घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी छन्। उनले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट ५ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ। उनलाई बूढानीलकण्ठ–१० बाट पक्राउ गरिएको हो। त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा पक्राउ परेकी छन्। उनले लिथुआनिया पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। उनलाई काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

झापाको दमक नगरपालिका–३ स्थायी घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल पनि पक्राउ परेका छन्। उनले फिनल्यान्ड पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ लिएको आरोप छ। उनलाई काठमाडौं महानगरपालिका–३ बाटै पक्राउ गरिएको हो।

यसैगरी, दोलखाको भीमेश्वर नगरपालिका–१ स्थायी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीया पेमा लामा पक्राउ परेकी छन्। उनले रोमानिया पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएको आरोप छ। उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ स्थायी घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा पनि पक्राउ परेकी छन्। उनले माल्टा पठाइदिने भन्दै एक जनाबाट ९० हजार रुपैयाँ लिएको आरोप छ। उनलाई भदौ ८ गते काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर रकम असुल्ने तथा लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन हुने व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७