बालिका बलात्कार र हत्या प्रकरणमा १४ वर्षीय बालक प्रदीप पक्राउ

पक्राउ पर्नेको संख्या ८ पुग्यो


२०८३ भदौ ८ सोमबार १६:०२ बजे

जनकपुरधाम : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। घटनाका मुख्य आरोपी मानिएका सुमन थापाले बयानका क्रममा नाम लिएका जीतपुरसिमरा उपमहानगरपालिका–२ का १४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो। कक्षा ९ मा अध्ययनरत खड्कालाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। योसँगै घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सुमन थापाको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसमा प्रदीपको नामसमेत उल्लेख भएको थियो। सुमनले प्रदीपकै योजना र नेतृत्वमा बालिकामाथि अपराध भएको दाबी गरेका छन्। घटनापछि प्रदीप त्यहाँबाट भागेकोसमेत उनले बयानमा बताएका छन्। सुमनको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले प्रदीपलाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना तथा प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

गरिमाको परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले शनिबार थप पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, अनुसन्धान पूरा नभएसम्म यसबारे यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त भौतिक प्रमाण तथा अन्य प्राविधिक पक्षको विश्लेषण गरी सामूहिक बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७