इन्दिरा राना र रामबहादुर थापाले बोलेका केही शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन


२०८३ भदौ ८ सोमबार १८:०१ बजे

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित तथा असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ १ र ३ गते बसेको प्रतिनिधि सभाका बैठकमा प्रयोग भएका केही शब्द तथा वाक्यांश संसद्को गरिमाविपरीत रहेको ठहर गर्दै संघीय संसद् सचिवालयलाई आधिकारिक अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

सभामुखको निर्देशनअनुसार भदौ १ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द अभिलेखबाट हटाइने भएको छ। त्यसैगरी, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द तथा वाक्यांश पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।

थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दसमेत संसद्को अभिलेखबाट हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभामा बोल्दा मर्यादित भाषा प्रयोग गर्नुपर्ने र कुनै व्यक्ति वा समुदायको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सभामुखले सांसदहरूको ध्यानाकर्षण गराएका छन्।

सभामुखको निर्देशनपछि संघीय संसद् सचिवालयले उक्त शब्द तथा वाक्यांशलाई प्रतिनिधिसभाको आधिकारिक अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाउनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७