सांसद ऐन महरलाई गोली हानेर मार्ने धम्की
काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गोली हानेर मार्ने धम्की आएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराएका हुन्। आफू जनताको आवाज बोल्दै आएको र सरकारको विरोध गर्दा धम्की आइरहेको उनले बताए।
‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौँ, जनताको कुरा बोल्न। हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौँ,’ महरले भने, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं।’
तर, आफूले संसद्मा बोलेको कुरालाई लिएर निरन्तर धम्की आइरहेको उनले बताए। ‘बिडम्बना, संसद्मा बोलिरहँदा केही मान्छेलाई सरकारको विरोध गरेको आभास हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ। गोली हानिदिन्छु, मारिदिन्छु भन्या छ,’ उनले भने।
आज पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ज्यान मार्ने धम्की आएको उनले सुनाए। महरले भने, ‘भरखरै मात्रै दुई जनाले मेरो स्टाटसमा कमेन्ट गर्नुभएको छ, ऐन महर, आमा कसम, तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ, ठेगाना पनि दिनुभएको छ।’
गोली हानेर ज्यान मार्ने धम्की दिने व्यक्तिले कमेन्टमा आफ्नो नाम, नम्बर र ठेगाना पनि राखेका छन्। महरले पढेर सुनाए, ‘पराजुली भन्ने नामबाट आएको छ। नम्बर ९७०३०९०३७७, काठमाडौँ महाकाल बौद्ध संगम चोक बस्ने भन्नुभएको छ। त्यस्तै, पूर्णविक्रम क्षेत्री भन्ने अर्का व्यक्तिबाट पनि गोली हान्ने धम्की आएको छ।’
.gif)

.png)

