मन्त्रिपरिषद्का ११ निर्णय : जापानको २ अर्ब ७३ करोड अनुदानदेखि शिक्षकको तलब वृद्धिसम्म
बागमती प्रदेशमा नयाँ प्रमुख सचिव
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णय सार्वजनिक गरेका हुन्। बैठकले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। यस्तै, कक्षा ९–१० र ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय र निम्न माध्यमिक तृतीय श्रेणीको शिक्षकसरह कायम गर्ने निर्णय भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, नेपालमा एसियन डिजास्टर प्रिपर्डनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति दिने तथा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
भारतमा हुने जोइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको १४औँ बैठकमा गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय पनि भएको छ। बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्नुका साथै भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
यस्तै, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
.gif)

.png)

