नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्ड आज राति १० बजेदेखि अनिश्चितकालका लागि बन्द
चितवन : सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्ड आज (आइतबार) राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै धादिङ लगायत आसपासका जिल्ला र चितवनका विभिन्न क्षेत्रमा भइरहेको निरन्तर वर्षा र मौसम पूर्वानुमान महाशाखाको खराब मौसमको प्रक्षेपणलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको जनाएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा सडकमा खस्न सक्ने पहिरो, ढुंगा तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटनाको उच्च जोखिम रहने ठहर गर्दै सवारी आवागमन रोक्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहनेछ।
प्रशासनले अत्यावश्यक कामका लागि वा थप जानकारी तथा समन्वय गर्न आवश्यक परेमा देहायका नम्बरहरूमा सम्पर्क गर्न नागरिकहरूलाई आग्रह गरेको छ:
-
नेपाल प्रहरी: १००
-
सशस्त्र प्रहरी बल नेपाल: १११४
-
जिल्ला आपतकालीन सञ्चालन केन्द्र: १२३४
सडक प्रयोगकर्ताहरूलाई मौसमको अवस्था सामान्य नभएसम्म र प्रशासनबाट अर्को सूचना नआएसम्म यात्रा नगर्न वा सतर्क रहन आग्रह गरिएको छ।
.gif)

.png)

