नेपाल–चीन सीमामा पहिरोले बनाएको ताल १४ फुटबल मैदानबराबर : चिनियाँ सरकारी टेलिभिजन

जोखिम घटे पनि उद्धार र निगरानी जारी


२०८३ भदौ १४ आइतबार १२:०५ बजे

काठमाडौं :  नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोले थुनिएर बनेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको छ। यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदानबराबर हो।

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनलाई उद्धृत गर्दै पहिरोले बनाएको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको जनाएको छ।

सीजीटीएनका अनुसार ताल ठूलो आकारको भए पनि हाल यसको अवस्था नियन्त्रणमा रहेको छ। पानीको सतह र बहावमा आएको परिवर्तनका आधारमा सम्भावित जोखिमको निरन्तर मूल्यांकन भइरहेको चिनियाँ पक्षले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ताल फुटेर ठूलो परिमाणमा पानी तलतर्फ बग्न सक्ने जोखिम देखिएपछि चिनियाँ अधिकारीहरूले शुक्रबार केही समय उद्धार कार्य रोकेका थिए। हवाई निरीक्षण तथा थ्री–डी मोडलिङबाट अवस्था मूल्यांकन गरेपछि जोखिम तत्काल व्यवस्थापनयोग्य देखिएसँगै उद्धार कार्य पुनः सुरु गरिएको थियो।

रोयटर्सले यसअघि उक्त तालमा २५ लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको र वर्षा जारी रहेमा थप पानी जम्मा हुन सक्ने जनाएको थियो। यसले पहिरो तथा हिमाली भूभागमा थप अस्थिरता निम्त्याउन सक्ने भन्दै चिनियाँ अधिकारीहरूले निगरानी बढाएका थिए।

तर पछिल्लो अनुगमनमा पानीको सतह घट्दै गएपछि ताल फुट्ने जोखिम पहिलेको तुलनामा कम भएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्। रोयटर्सले अगस्ट २९ को रिपोर्टमा तालको आकार करिब ९९ हजार वर्गमिटर रहेको र अघिल्लो दिनको तुलनामा क्षेत्रफल घटेको जनाएको छ।

अर्को ताल पनि पहिचान

यसैबीच, चिनियाँ पक्षले पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को बाँध ताल (ताल–२) समेत पहिचान गरेको छ।

यसले सीमाक्षेत्रमा जोखिम एउटै स्थानमा सीमित नरहेको देखाएको छ। भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्भावित थप पहिरो, पानीको बहाव र नयाँ ताल बन्न सक्ने अवस्थाबारे चिनियाँ पक्षले निरन्तर अनुगमन गरिरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार सुरुमा बाढीको कारण हिमताल फुटेको हुन सक्ने आशंका गरिए पनि वैज्ञानिक विश्लेषणले हिमनदी तथा चट्टानको ठूलो हिस्सा खस्दा बनेको हिम–चट्टान–माटोको बहाव मुख्य कारण भएको संकेत गरेको छ।

रोयटर्सले नेपालतर्फको लेन्डे खोलामा आएको ठूलो हिम–चट्टान पहिरोले नदीमा एक्कासि अत्यधिक पानी, माटो र ढुंगा मिसिएको बहाव सिर्जना गरेको जनाएको छ। त्यसपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नेपालतर्फ ठूलो जनधनको क्षति गरेको थियो।

यस विपद्ले चीनतर्फको ग्यिरोङ बन्दरगाह क्षेत्रलाई समेत ठूलो क्षति पुर्‍याएको छ। रोयटर्सका अनुसार चिनियाँ उद्धार टोलीले बन्दरगाह क्षेत्रमा पुग्दा त्यहाँ अधिकांश संरचना ध्वस्त भएको पाएको थियो।

जोखिम घटे पनि उद्धार र निगरानी जारी

पछिल्लो अवस्थाअनुसार ताल फुट्ने तत्कालको जोखिम घटेको देखिए पनि हिमाली भूभागमा वर्षा, पहिरो र नयाँ ताल बन्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन।

चिनियाँ उद्धार टोलीले ग्यिरोङ क्षेत्रमा खोज तथा उद्धार जारी राखेको छ भने नेपालतर्फ पनि बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। चीनले नेपाललाई सुरुङ उद्धार, फोरेन्सिक तथा राहत सामग्रीमा समेत सहयोग गरिरहेको छ।

नेपाल–चीन सीमामा बनेको यो अस्थायी ताल अहिले आफैंमा नयाँ विपद् बनेको भन्दा पनि पहिले नै बाढीबाट तहसनहस भएको क्षेत्रमा थप जोखिमको सम्भावित स्रोतका रूपमा हेरिएको छ। त्यसैले यसको पानीको सतह, बहाव, बाँधको स्थायित्व र माथिल्लो तटीय क्षेत्रमा बन्न सक्ने नयाँ तालको अवस्थालाई निरन्तर निगरानीमा राख्नु आवश्यक देखिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७