नक्कली ‘स्क्रिनसर्ट’ सार्वजनिक गर्ने रास्वपा नेता पक्राउ


२०८३ भदौ १४ आइतबार १२:४३ बजे

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै नक्कली कागजात तथा भौचर सार्वजनिक गरेको आरोपमा भगवान कार्की पक्राउ परेका छन्। 

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका स्थायी बासिन्दा कार्की  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता रहेको खुलेको छ। उनी रास्वपा गोकुलगंगा गाउँपालिका कार्यसमितिका सहसचिवसमेत हुन्। उनी आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारी स्वरूप रास्वपाको ‘क्याण्डिडेट क्लब’मा समेत सहभागी भइसकेका थिए।

कार्कीले राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको दाबी गर्दै क्यूआर कोड र भौचर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। तर उक्त विवरणप्रति उनीसँग परिचित केही व्यक्तिले शंका व्यक्त गरेपछि प्रहरीलाई सूचना पुगेको थियो। रास्वपाकै केही कार्यकर्ताले कार्कीको आर्थिक अवस्थालाई हेर्दा उक्त रकम जम्मा गरेको दाबीमा शंका रहेको भन्दै प्रहरीलाई जानकारी गराएको बताइएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय रामेछापले ठोसे प्रहरी चौकीलाई खबर गरेको र उनलाई शनिबार राति नै सदरमुकाम मन्थलीतर्फ लगिएको बताइएको छ।

गोकुलगंगा गाउँपालिका–२ का वडाध्यक्ष सुन्दर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट गाडी पठाएर भगवानलाई लगिएको जानकारी आफूले पाएका छन्। वडाध्यक्षका अनुसार भगवान गाउँमा खेती–किसानी गर्ने व्यक्ति हुन्। पछिल्लो समय उनी रास्वपाको राजनीतिमा सक्रिय थिए। वडाध्यक्षले उनको आर्थिक अवस्थाले १ लाख २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न सक्ने अवस्था नरहेको आफूलाई लागेको बताए।

भगवानले सामाजिक सञ्जालमा सहयोग गरेको विवरण सार्वजनिक गरेपछि आफूहरूले त्यसलाई पार्टीका तर्फबाट गरिएको सहयोग हुनसक्ने ठानेर तत्काल चासो नदिएको पनि वडाध्यक्षले बताए। पछि प्रहरीले नै अनुसन्धान अघि बढाएर उनलाई पक्राउ गरेको जानकारी आफूले पाएको उनको भनाइ छ। यता, रास्वपा रामेछापका सभापति रमेश रायमाझीले घटनाबारे आफूले बुझिरहेको बताएका छन्। कार्कीले गलत काम गरेको पुष्टि भए पार्टीले अनुशासनको कारबाही गर्ने उनले बताए। 

रायमाझीले प्रहरीले कार्कीलाई पक्राउ गरेको जानकारी आफूले पाए पनि घटनाको विस्तृत विवरणबारे बुझ्ने प्रयास भइरहेको बताएका छन्। कार्कीमाथि नक्कली कागजात प्रयोग तथा राहत कोषमा रकम जम्मा गरेको झुटो विवरण सार्वजनिक गरेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७