राहत कोषमा निजी क्षेत्रको ठूलो साथ, एकै दिन थपियो ३८ करोड ५६ लाख
काठमाडौं : रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको छ। शुक्रबार अर्थ मन्त्रालयमार्फत विभिन्न २७ संस्था तथा व्यक्तिले कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्राप्त सहयोगबाट एकै दिन कोषमा ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ थपिएको हो। उद्धार तथा राहत अभियानमा निजी क्षेत्र र विभिन्न संस्थाको उल्लेख्य सहभागिता देखिएको छ। सहयोग गर्नेमा सबैभन्दा ठूलो रकम सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ दिएको छ।
यस्तै प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड र नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन्। हिमालयन बुलियनले एक करोड एक लाख, एग्रो थाईफुड्सले एक करोड, एसियन लाइफ इन्स्योरेन्सले एक करोड एक लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक करोड रुपैयाँ योगदान गरेका छन्।
व्यक्तिगत तथा व्यावसायिक क्षेत्रबाट पनि उल्लेख्य सहयोग आएको छ। उद्योगी विजयकुमार शाह, स्याकार ट्रेडिङ, डब्लूडब्लूएफ नेपाल, मोरङ अटो वर्क्स, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरलगायतले कोषमा रकम हस्तान्तरण गरेका छन्।
त्यस्तै नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख तथा अन्य विभिन्न संस्था र व्यक्तिले समेत सहयोग गरेका छन्। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्रोत परिचालन गरिरहेका बेला एकै दिन ठूलो रकम कोषमा जम्मा भएको हो।
.gif)

.png)

