बाढीपीडितका लागि आइएमई लाइफले एक करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै बस्ती र पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। कम्पनीले विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै तत्काल उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा समेत सहयोग आवश्यक रहेको जनाएको छ।
आइएमई लाइफका अनुसार कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य राष्ट्रिय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ। हाल घोषणा गरिएको १ करोड रुपैयाँले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनाका काममा सहयोग पुग्ने कम्पनीको विश्वास छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
.gif)

.png)

