विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन


२०८३ भदौ ११ बिहीबार १६:३३ बजे
तस्बिरः प्रधानमन्त्री शाहको सचिवालय

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए।

उनले बाढीबाट प्रभावित बस्ती, नदी तटीय क्षेत्र तथा क्षतिग्रस्त पूर्वाधारको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन्। निरीक्षणका क्रममा प्रधानमन्त्री शाहको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे छलफल गरेको थियो। प्रधानमन्त्री शाहले बाढीका कारण विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित नागरिकको आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

त्यस्तै, बाढीका कारण अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन्। यसअघि रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा विपद् व्यवस्थापनका विषयमा उच्चस्तरीय बैठक बोलाउँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका थिए।

बाढीपछिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको निरीक्षण तथा सम्बन्धित पक्षसँग छलफलपछि आजै काठमाडौँ फर्किएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७