सरकारले खटायो बाढी प्रभावितको व्यवस्थापनमा १२ वटा विशेष टोली

१२ टोलीलाई फरक–फरक जिम्मेवारी


२०८३ भदौ ११ बिहीबार १४:४७ बजे

काठमाडौं : भोटेकोशी–त्रिशूली बाढीबाट उत्पन्न संकट व्यवस्थापनका लागि सरकारले उद्दारदेखि विद्युत् र सञ्चार सेवा पुनःस्थापनासम्मका कामलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर १२ वटा विशेष टोली परिचालन गरेको छ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा एउटै निकायबाट मात्र सबै काम सम्भव नभएपछि विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संस्थाका जनशक्ति समेटेर टोली बनाइएको हो।

यी टोलीलाई खोज तथा उद्धार, घाइतेको उपचार, सञ्चार तथा विद्युत् सेवा सञ्चालन, अवरुद्ध सडक खुलाउने, बेलिब्रिज व्यवस्थापन, क्षतिको आकलन, राहत सामग्री आपूर्ति, बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापन र हवाई उद्धारको समन्वयसम्मका जिम्मेवारी दिइएको छ।

१२ टोलीलाई १२ जिम्मेवारी

प्राधिकरणका अनुसार सञ्चार व्यवस्थापन टोलीको संयोजन सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले गर्नेछन्। विद्युत् आपूर्ति तथा सेवा सञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यलाई दिइएको छ। 

खोज तथा उद्धारका लागि नेपाली सेनाका रञ्जित थापा संयोजक तोकिएका छन्। अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयका सहसचिव डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयका डा. समीर अधिकारीलाई संयोजक तोकिएको छ। दातृराष्ट्र तथा विकास साझेदारसँग समन्वयका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कौशल किशोर रायलाई जिम्मेवारी दिइएको छ। साझेदार संघसंस्थालाई आवश्यक सहजीकरण गर्ने काम पनि यही संयन्त्रमार्फत हुनेछ।

अवरुद्ध सडक तत्काल खुलाउने र आवश्यक स्थानमा बेलिब्रिज व्यवस्थापन गरी यातायात सञ्चालन गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीलाई दिइएको छ। बाढीबाट भएको भौतिक तथा अन्य क्षतिको आकलन गर्न राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी संयोजक रहेको टोली बनाइएको छ। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्रता दिन गृह मन्त्रालयका लोकेन्द्र अधिकारीलाई जिम्मेवारी दिइएको छ।

राहत तथा अत्यावश्यक खाद्य सामग्रीलगायत लजिस्टिक आपूर्ति व्यवस्थापनका लागि गृह मन्त्रालयका शाखा अधिकृत निरञ्जन प्रकाश निरौलालाई संयोजक तोकिएको छ। हवाई उद्धार तथा उडान व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश ढकाललाई जिम्मेवारी दिइएको छ।

 त्यसैगरी, सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको विवरण संकलन गरी नामावली सार्वजनिक गर्ने जिम्मेवारी गृह मन्त्रालयका सहसचिव फणीन्द्र पौडेललाई दिइएको प्राधिकरणले जनाएको छ।

सुरक्षा निकायदेखि टेलिकमसम्म

प्राधिकरणका अनुसार १२ वटै टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीसमेत सहभागी छन्। 

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र अत्यावश्यक सेवा पुनःसञ्चालनलाई एकैसाथ अघि बढाउन सम्बन्धित निकायका जनशक्तिलाई जिम्मेवारीअनुसार परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यसले बाढीपछि देखिएको मानवीय उद्धारसँगै सडक, विद्युत्, सञ्चार, स्वास्थ्य, राहत र तथ्यांक व्यवस्थापनको बहुआयामिक संकटलाई एउटै समन्वित संयन्त्रमार्फत सम्बोधन गर्ने सरकारी प्रयासलाई देखाउँछ।

यस्तो छ सूचीः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७