भोटेकोशी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो धक्का, ४३१ मेगावाट उत्पादन बन्द

ठूलो संख्यामा कर्मचारी सम्पर्कविहीन


२०८३ भदौ १० बुधबार २२:५३ बजे

काठमाडौं:  भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट ती जिल्लाका विभिन्न विद्युत् आयोजना, सबस्टेसन, प्रसारण लाइन, टावर, पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ। निर्माणाधीनतर्फ पनि प्राधिकरण, उसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट निर्माण भइरहेका ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीका कारण बन्द भएका आयोजनामध्ये १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना र ७८ मेगावाटको सालासुंगी (सान्जेन) जलविद्युत् आयोजना प्रमुख छन्। त्यस्तै, माथिल्लो सान्जेन १४.५ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे २२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मेलुङ १४.५ मेगावाट, मेलुङ ५ मेगावाट र त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट पनि बन्द भएका छन्।

यसैगरी, देवीघाट जलविद्युत् केन्द्रको १४ मेगावाट तथा प्राधिकरणको २५ मेगावाट क्षमताको सोलार आयोजनाबाट समेत उत्पादन प्रभावित भएको छ।

ठूलो संख्यामा कर्मचारी सम्पर्कविहीन

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन भएका छन्। प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ जना कर्मचारी सम्पर्कबाहिर छन्। चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रमा रहेका एक जना पनि सम्पर्कविहीन छन्।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेरको कम्पनीबाट खटिएर त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत ११ जना पनि सम्पर्कमा नरहेको जनाइएको छ।

त्यस्तै, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना तथा त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्। रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी र गोटागन्तीका मिटर रिडरसमेत सम्पर्कमा नरहेको जनाइएको छ। यसैगरी, त्रिशूली २२० केभी ३ बी हब सबस्टेसनमा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्।

रसुवामा विद्युत् आपूर्ति पूर्ण अवरुद्ध

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने विद्युत् आपूर्ति आंशिक रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ।

धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिटसम्म लेदो जमेको छ। प्राधिकरणले डोजर प्रयोग गरेर लेदो हटाउने काम गरिरहेको जनाएको छ। विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको छ। चिलिमे २२० केभी हब टावरमा समस्या आएपछि प्रसारण अवरुद्ध भएको छ। त्यस्तै, समुन्द्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन पनि अवरुद्ध भएका छन्। केही प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

उद्धारसँगै विद्युत् पुनः सञ्चालनको प्रयास

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि प्राधिकरणले विभिन्न टोली परिचालन गरेको छ। कार्यकारी निर्देशकसहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएको छ भने जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणको उद्धार र सुरक्षित स्थानान्तरणका लागि अर्को टोली स्थानीय क्षेत्रमा खटिएको छ।

सम्पर्कविहीन कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।

वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सकिने क्षेत्रमा विद्युत् प्रणाली आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ। सिन्धुपाल्चोकतर्फ समुन्द्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याई चौतारा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको छ। त्यस्तै, गुर्जुदेखि गञ्जीसम्म धादिङबेसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।

सम्भव भएका स्थानमा प्रसारण तथा वितरण लाइनको पेट्रोलिङ गरी क्षति पहिचान र मर्मतको काम भइरहेको छ। विद्युत् प्रणालीलाई यथासम्भव सञ्चालनमा राख्न ग्रिड सञ्चालन विभाग, विद्युत् प्रणाली सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा सर्वसाधारणलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा सुरक्षित रहन तथा जोखिमपूर्ण विद्युत् संरचनाबाट टाढा रहन आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७