राहतको नाममा भीम उपाध्यायले हाम्रो क्यूआर तोडमोड गरी भ्रम फैलाएः श्रम संस्कृति
काठमाडौं : श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले सामाजिक सञ्जालमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्यूआर कोड तोडमोड गरी भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाएको छ। पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा श्रम संस्कृति पार्टीले रकम संकलन गरिरहेको भन्दै सामाजिक सञ्जालमा सूचना फैलाइएको र उक्त दाबी तथ्यहीन रहेको जनाएको हो।
पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषित सूचना तथ्यहीन, भ्रामक र वास्तविकताभन्दा फरक रहेको स्पष्ट पारेका छन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा आफ्नो पार्टीको बैंक खाताको क्यूआर कोड प्रयोग गरी रकम संकलन गरेको आरोपको स्पष्ट खण्डन गरेको छ। साथै, पार्टीले त्यस्ता सूचनाबाट भ्रमित नहुन आम नागरिक तथा आफ्ना शुभेच्छुकलाई आग्रह गरेको छ।
विज्ञप्तिमा पूर्वसचिव उपाध्यायले पार्टीविरुद्ध तथ्यहीन तथा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत निरन्तर सम्प्रेषण गर्दै आएको दाबीसमेत गरिएको छ। यस्ता गतिविधिले पार्टीको प्रतिष्ठामा असर पार्नुका साथै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाबारे आवश्यक कानुनी तथा अन्य कदम चाल्ने चेतावनी समेत दिएको छ।
यसैबीच, विपद्पछि राहत तथा उद्धारका नाममा विभिन्न व्यक्ति तथा संस्थाको क्यूआर कोड दुरुपयोग गरी रकम संकलन गर्ने प्रयास भइरहेको गुनासोसमेत आउन थालेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा समेत राहत कोषका क्यूआर कोड बनाएर ठगी भइरहेको गुनासो आएको जनाइएको छ।
पार्टीले राहत तथा सहयोगका नाममा रकम पठाउनुअघि सम्बन्धित संस्था वा आधिकारिक निकायबाट प्राप्त विवरणको विश्वसनीयता यकिन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

.gif)

.png)

