पोखरा विमानस्थलमा विशेष सुविधा
गण्डकी : सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ। यस निर्णयसँगै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्षित गर्दै २०८५ साल भदौ मसान्तसम्म विमानस्थलमा लाग्ने पार्किङ, अवतरण (ल्यान्डिङ) र हवाई मार्ग निर्देशन (नेभिगेसन) शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। साथै, भुइँ सेवा (ग्राउन्ड ह्यान्डलिङ) शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारको यस निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुर्याउनेछ।
यसैबीच, फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्ने तयारी गरेको छ। विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक दुबईसँग पोखराको प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि युरोप, अमेरिका लगायत विभिन्न मुलुक जाने यात्रुलाई सहजता हुने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ र फ्लाइ दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ। उनका अनुसार यस उडानले यात्राको समय छोट्याउनुका साथै यात्रुहरूको खर्चसमेत घटाउनेछ।
सिधा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटकहरू पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा प्रत्यक्ष पुग्न सक्नेछन्। साथै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि दुबई हुँदै अन्य देश जाने यात्रुका लागि पनि यो सेवा लाभदायी हुने विश्वास गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै उक्त कम्पनीले उडान अनुमति प्राप्त गरेको हो।
करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। हालसम्म छिमेकी केही मुलुकमा चार्टर उडानबाहेक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छैन। सरकारको पछिल्लो निर्णयले अब भने पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
.gif)

.png)

