गृहमन्त्री गुरुङ शिक्षण अस्पतालमा, कप्तानगञ्ज घटनाका मृतकका परिवारसँग वार्ता
काठमाडौं : सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनामा गोली लागेर उपचाररत अवस्थामा मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ।
वार्ता काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको हो। मेहताको मृत्यु भएपछि उनका आफन्तहरूले शव बुझ्न अस्वीकार गर्दै गृहमन्त्री स्वयं उपस्थित भएर माग सम्बोधन गर्नुपर्ने अडान लिएपछि वार्ता सुरु भएको हो।
यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो।
उनको निधनपछि अस्पताल परिसरमा आफन्त र समर्थकहरूको उपस्थिति बढेको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले गृहमन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए। छलफलमा दुवै समुदायका विभिन्न प्रतिनिधि तथा अगुवाहरू सहभागी भएका थिए।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा पछिल्लो समय मुलुकका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समुदायबीच आपसी विश्वास कायम राख्ने विषयमा विस्तृत छलफल भएको थियो।
समुदायका अगुवाहरूसँगको छलफल सम्पन्न गरेलगत्तै गृहमन्त्री गुरुङ शिक्षण अस्पताल पुगेका हुन्। अस्पतालमा उनले मृतक मेहताका परिवारसँग प्रत्यक्ष संवाद गरी उनीहरूको माग सुन्ने तथा घटनाबारे सरकारको धारणा राख्ने प्रयास गरिरहेका छन्।
.gif)

.png)

