साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी

१५५ जना पक्राउ


२०८३ श्रावण २९ शुक्रबार १०:२९ बजे

काठमाडौं :  नेपालमा साइबर अपराधका घटना निरन्तर बढ्दै गएका छन्। आर्थिक वर्ष २०८२/८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका छन् भने १५५ जना पक्राउ परेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेलिङ, ठगी, अनलाइन स्क्यामिङ, ह्याकिङ तथा अनधिकृत पहुँचलगायतका विद्युतीय कसुरमा संलग्नलाई उपलब्ध प्रविधिको प्रयोग गर्दै कानुनी दायरामा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

दर्ता भएका निवेदनमध्ये फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसम्बन्धी ७ हजार १२३, टिकटकका ६ हजार ७७६, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६२८ वटा छन्।

त्यस्तै, इमेलका ११४, युट्युबका ६४, इमोका ३८, भाइबरका २१, वीच्याटका १४, ट्वीटरका ११ र गुगलसम्बन्धी ११ वटा निवेदन दर्ता भएका छन्। इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससम्बन्धी ७४४ र संस्थासम्बन्धी ८४६ वटा निवेदन दर्ता भएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र २०८०/८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा बैंक तथा वालेटबाट फोन गरेको भन्दै खातामा पहुँच पु¥याएर ठगी गर्ने, गिफ्ट, लटरी तथा पार्सलको नाममा ठगी गर्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने र वैदेशिक रोजगारीको प्रलोभन देखाउने घटना बढेका छन्।

त्यस्तै, टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाएर तथा अनलाइन सपिङका नाममा ठगी गर्ने प्रवृत्तिसमेत बढिरहेको प्रहरीले जनाएको छ।

प्रविधिको दुरुपयोगसँगै अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको छ। यस्ता अपराधको रोकथाम तथा अनुसन्धानका लागि नेपाल सरकारले २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरेको हो। साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७