केही आवाराहरु मलाई हटाउन लागेका छन् : ओली

‘बस्न मन नभए पार्टी छाडे हुन्छ’


२०८३ श्रावण ३० शनिबार २१:४३ बजे

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका केही ‘आवारा’हरू आफूलाई नेतृत्वबाट हटाउन लागेको बताएका छन् । आफूलाई हटाउने अभियान चलाइएको दाबी गर्दै ओलीले त्यस्तो गतिविधिलाई ‘हुल्याहाहरूले गरेको हुलदङ्गा’को संज्ञा दिएका छन् ।

शनिबार इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठाउने नेताहरूप्रति तीव्र रोष प्रकट गरे । ‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू मलाई हटाउन लागेका छन् । अब, हामीले चाहिँ बोल्नुपर्छ,’ ओलीले भने ।

ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारे । विरोधीले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला एमाले एकजुट भएर सामना गर्नुपर्ने भन्दै नेतृत्व परिवर्तनको कुरा गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ थियो ।

‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन,’ उनले भने, ‘अब केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ ।’

पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया र समोसा खाँदै अध्यक्ष हटाउने कुरा गर्नु अराजकता भएको ओलीले बताए । ‘अहिले देखिएको अनुशासनहीनता र अराजकतालाई हामीले रोक्नुपर्छ । पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्ने, चिया खाँदै, समोसा खाँदै अध्यक्ष हटाऊँ भन्ने—यस्तो अराजकता चल्दैन,’ उनले भने, ‘हस्ताक्षर गर्दै हिँडेका छन्, तर यसको केही अर्थ छैन । महाधिवेशनको एउटा विधि, प्रक्रिया र समय हुन्छ ।’

विरोधीहरूले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला भित्रैबाट नेतृत्व परिवर्तनको कुरा उठाउनु उचित नभएको ओलीको भनाइ थियो । ‘जतिबेला विरोधीले तीव्र प्रहार गरिरहेका छन्, त्यतिबेला सिंगो पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा भित्रैबाट यस्ता कुरा गर्नु बेकार हो,’ उनले भने ।

ओलीले पार्टीको नीति, नियम र अनुशासनविपरीत गतिविधि गर्नेहरूमाथि कारबाही हुने चेतावनीसमेत दिए । ‘पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन । पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ,’ ओलीले भने, ‘पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ । तर पार्टीमा काम गर्ने हो भने नीति, नियम र अनुशासन मान्नै पर्छ । सम्झाउँदा पनि नमान्नेलाई विधि र विधानअनुसार कारबाही गरिन्छ ।’

आफूहरू अहिले धक्का खाएको र अप्ठ्यारो अवस्थामा रहेको स्वीकार गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले जिम्मेवारी छाडेर नभाग्ने बताए । ‘हामी धक्का खाएको र अप्ठ्यारो स्थितिमा छौँ । तर महाधिवेशनले निर्वाचित गरेको यो केन्द्रीय कमिटी आफ्नो अभिभारा छोडेर भाग्नेवाला छैन । अत्यधिक मतले मलाई अध्यक्ष बनाउनुभएको छ । पार्टी अप्ठ्यारोमा पर्दा जिम्मेवारी फालेर भाग्ने मान्छे म होइन,’ उनले भने ।

उनले आफूहरू कठिन परिस्थितिसँग जुध्दै यहाँसम्म आइपुगेको भन्दै अहिले देखिएका ‘उच्छृङ्खल तत्व’सँग पनि सामना गर्ने बताए । ‘अप्ठ्यारो परिस्थितिसँग जुधेर यहाँसम्म आएका हौँ । अहिलेका यी उच्छृङ्खल तत्वहरूले आगो लगाउँदा हामी भाग्ने होइनौँ । यसको सामना गरिन्छ, पराजित गरिन्छ । फेरि जनता, देश र लोकतन्त्रलाई जिताइन्छ,’ ओलीले भने ।

संविधानको रक्षा र देशको विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउँदै ओलीले पार्टीभित्र ठूलो विग्रह नहुने दाबी गरे । ‘यहाँ उपस्थित थुप्रै केन्द्रीय सदस्यहरूको राय छ कि पार्टी बलियो, सुदृढ र एकताबद्ध हुनुपर्छ । यही भावनाका साथ पार्टी अगाडि बढ्छ । म दृढताका साथ अगाडि बढ्छु र साथीहरूलाई पनि ढुक्क भएर अगाडि बढ्न आग्रह गर्दछु,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७