४७ प्रतिशतले बढ्यो नेपाल टेलिकमको मुनाफा

खुद नाफा ८ अर्ब ८६ करोड, डाटा खपत बढ्दा आम्दानीमा सुधार


२०८३ भदौ २ मंगलबार १७:११ बजे

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ। तेस्रो त्रैमासिकसम्म कम्पनीको नाफा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ थियो।

कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार ‘फाइबर टु द होम’ (एफटीटीएच) र जिएसएम डाटाको खपत बढ्दा आम्दानी बढेको हो। भ्वाइस सेवाभन्दा डाटा खपत बढेको र सञ्चालन खर्च घटेकाले नाफा बढेको उनको भनाइ छ। विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि कम्पनीले गत आर्थिक वर्षमा करिब १० देखि १५ करोड रुपैयाँ बचत गरेको जनाएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म टेलिकमको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। 

त्यस्तै, कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख र कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख तथा कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँले बढेको हो। ब्याजदर घटेका कारण ब्याज आम्दानी भने ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ। तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढेका कारण समग्र नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। जिएसएम सेवाको राजस्व मात्रै ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ।

सरकारले टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राख्दै डाटा व्यवस्थापन, अनलाइन सेवा, ‘वान टाइम केवाइसी’, ई–सिम, गुनासो व्यवस्थापन तथा ४जी सेवाको गुणस्तर सुधारलगायतका काम अघि बढाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७