नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल


२०८२ माघ २२ बिहीबार १४:१९ बजे

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई केवल दूरसञ्चार सेवा प्रदायक नभई राज्यको डिजिटल संरचनाको आधार स्तम्भका रूपमा चित्रित गरेका छन्  ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चार सेवा विस्तारमा टेलिकमले खेलेको भूमिकाको प्रशंसा गरे। प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थामा टेलिकमको योगदान स्मरणीय रहेको उनको भनाइ थियो।

‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थामा नेपाल टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको छ,’ गृहमन्त्री अर्यालले भने।

उनका अनुसार आजको सन्दर्भमा दूरसञ्चार सेवा मानव जीवनको आधारभूत आवश्यकता बन्न पुगेको छ। शिक्षा, सामाजिक सम्बन्ध र आर्थिक गतिविधिमा दूरसञ्चार पूर्वाधारको भूमिका झन् महत्त्वपूर्ण हुँदै गएको उनले बताए।

सेवाग्राहीलाई नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा उपलब्ध गराउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले यस विषयमा कम्पनीले विशेष प्राथमिकता दिनुपर्ने बताए। सन्तुष्ट ग्राहक नै संस्थाको दिगो विकास र स्थायित्वको मुख्य आधार हुने उनको धारणा छ।

‘समाजको विकासको लागि दूरसञ्चार सेवा अत्यन्त आवश्यक भएको पृष्ठभुमीमा नवीनतम् प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले कम्पनीले यसमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।

सन्तुष्ट ग्राहक नै कम्पनीको दीगो विकास र स्थायित्वको आधार स्तम्भ हुन भन्ने विषयलाई आत्मसाथ गर्दै कम्पनीले आगामी दिनमा समेत नयाँ नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गरी ग्राहक सन्तुष्टीलाई केन्द्रमा राखी सेवा प्रवाह गर्नेछ भन्नेमा विश्वस्त रहेको छु,’ उनले भने।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७