बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय


२०८३ भदौ २ मंगलबार १९:१४ बजे

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले जानकारी दिए। बैठकले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ।

एमालेभित्र मुख्यमन्त्रीका लागि नेताहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला संसदीय दलको बैठकले थापाको नाम टुंगो लगाएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।

मुख्यमन्त्रीको दाबेदारीमा थपलिया र थापाबीच प्रतिस्पर्धा भएपछि पार्टी नेतृत्वले समेत आन्तरिक छलफललाई तीव्रता दिएको थियो। अन्ततः भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भएको हो।

मुख्यमन्त्रीमा अघि सारिएसँगै थापालाई अन्य दलसँग सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन वार्ता गर्ने जिम्मेवारीसमेत दिइएको छ। थापाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ।

समितिमा थापासहित भरतबहादुर केसी, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा सदस्य रहेका छन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

एमाले र नेकपाका सांसद जोड्दा ५१ जना पुग्छन्। बहुमतका लागि आवश्यक ५३ सांसदभन्दा दुई जना कम भएकाले एमाले–नेकपा गठबन्धनलाई सरकार गठन गर्न साना दलको समर्थन आवश्यक पर्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७