गरिमा चौधरी हत्या घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
१० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो
काठमाडौं : बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। अधिकारकर्मी, युवा तथा सर्वसाधारणले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै घटनामा दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीले पीडित परिवारसँग प्रशासनले गरेको पाँचबुँदे सहमतिप्रति समेत आपत्ति जनाएका छन्।
‘बलात्कारीलाई फाँसी दे’, ‘हामीलाई १० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो’ लगायतका नारा र प्लेकार्डसहित प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले घटनामा गम्भीर लापरबाही गर्ने इलाका प्रहरी कार्यालय सिमराका जिम्मेवार प्रहरी अधिकृतमाथि समेत विभागीय तथा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। पीडित परिवारलाई आर्थिक राहत र क्षतिपूर्तिभन्दा निष्पक्ष अनुसन्धान तथा न्यायको पूर्ण प्रत्याभूति आवश्यक रहेको उनीहरूको भनाइ छ।
.png)
प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। घटनापछि पीडित परिवार, स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच बिहीबार राति पाँचबुँदे सहमति भएको थियो। सहमतिमा दोषीलाई कडा कारबाही गर्नेदेखि पीडित परिवारलाई राहत, क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्नेसम्मका विषय समेटिएका छन्।
अनुसन्धानमा कमजोरी भएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाइएको छ। घटनापछि स्थानीयवासी तथा पीडित पक्षले निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन्।
.png)
.gif)

.png)

