रुस ३ लाख सैनिक उतार्ने तयारीमा छ: जेलेन्स्की


२०८३ भदौ ७ आइतबार २३:२४ बजे

काठमाडौँ :  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसै वर्ष थप ३ लाख सैनिक परिचालन गर्न सक्ने बताएका छन्। पूर्वी युक्रेनको लामो समयदेखि कब्जा गर्न खोजिएको क्षेत्र नियन्त्रणमा लिन रुसले नयाँ सैनिक परिचालन गर्न सक्ने उनको दाबी छ।

आइतबार सार्वजनिक गरिएको विस्तृत अन्तर्वार्तामा जेलेन्स्कीले ठूलो मानवीय क्षति व्यहोरे पनि रुसले वर्षको सुरुवातमा कब्जा गरेको क्षेत्रफल बराबरकै भूभागमा वर्षको अन्त्यसम्म रहने अपेक्षा आफूले गरेको बताए।

उनका अनुसार रुसले यस वर्षको सुरुदेखि हालसम्म २ लाख ६७ हजार सैनिक गुमाइसकेको छ। त्यसमध्ये करिब १ लाख ५५ हजार सैनिक मारिएको जेलेन्स्कीको दाबी छ। यद्यपि उक्त तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। पश्चिमी अधिकारीहरूले गरेका अनुमानसँग भने यो तथ्यांक मिल्दोजुल्दो रहेको बताइएको छ।

रुसमा आगामी महिना संसदीय निर्वाचन हुँदैछ। सन् २०२२ मा गरिएको सैनिक परिचालनपछि भएको विरोध प्रदर्शन र ठूलो संख्यामा युवाहरू देशबाट बाहिरिएपछि नयाँ सैनिक परिचालन हुने विषयमा चर्चा हुँदै आएको छ।

जेलेन्स्कीले निर्वाचनपछि रुसले नयाँ सैनिक परिचालन गर्ने आफूहरूको विश्वास रहेको बताए। उनका अनुसार यस्तो परिचालन ठूला सहरमा नगरी अन्य क्षेत्रमा केन्द्रित हुन सक्छ। ‘हामीलाई विश्वास छ, निर्वाचनपछि उनीहरूले सैनिक परिचालन गर्नेछन्। यो ठूला सहरमा भने हुनेछैन,’ जेलेन्स्कीले भने।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको अवस्थाअनुसार नयाँ परिचालित ३ लाख सैनिकलाई परिचालन गर्ने र वर्षको अन्त्यसम्म डोनेट्स्क क्षेत्र कब्जा गर्न आफ्ना सैन्य कमान्डरलाई निर्देशन दिएको दाबी गरे।

हाल युक्रेनी सेनाले डोनेट्स्कको करिब २० प्रतिशत भूभाग रक्षा गरिरहेको छ। यस क्षेत्रमा स्लाभियान्स्क र क्रामाटोर्स्कजस्ता रणनीतिक औद्योगिक सहरहरू पनि पर्छन्। जेलेन्स्कीले रुसले डोनेट्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गर्न नसक्ने दाबी गर्दै उत्तरतर्फका खार्किभ र सुमी क्षेत्रमा समेत रुसी सेना प्रवेश गर्ने प्रयास हुन सक्ने बताए।

हवाई सुरक्षामा सहयोग घटेको जेलेन्स्कीको दाबी

जेलेन्स्कीले युक्रेनलाई उपलब्ध गराइएका प्याट्रियट क्षेप्यास्त्रको संख्यामा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार सन् २०२३ मा युक्रेनलाई ६७५ वटा प्याट्रियट क्षेप्यास्त्र उपलब्ध गराइएको थियो भने यस वर्ष करिब २६४ वटा मात्रै उपलब्ध हुने अनुमान छ। रुसले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत गर्ने आक्रमण बढिरहेका बेला प्याट्रियट प्रणाली त्यस्ता क्षेप्यास्त्र रोक्न सक्षम प्रमुख हवाई सुरक्षा प्रणाली भएको उनको भनाइ छ।

जेलेन्स्कीले अमेरिकाले आफ्नो प्याट्रियट क्षेप्यास्त्र भण्डारको १० प्रतिशतसम्म युक्रेनलाई उपलब्ध गराए त्यसको लागत युक्रेनले बेहोर्न सक्ने बताए। यस्तो सहयोगले नागरिकको ज्यान जोगाउन र कूटनीतिक रूपमा पनि ठूलो प्रभाव पार्न सक्ने उनको दाबी छ।

युरोपबाट एस्टर हवाई सुरक्षा क्षेप्यास्त्र प्राप्त गर्न पनि समस्या रहेको उनले बताए। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आपूर्ति बढाउने प्रतिबद्धता जनाए पनि पर्याप्त क्षेप्यास्त्र उत्पादन नभएको जेलेन्स्कीको भनाइ छ।

यसैबीच युक्रेनले रुसभित्रबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुने स्थान पहिचान गरी ती क्षेत्रमा कारबाही गर्ने प्रयास गरिरहेको उनले बताए। जेलेन्स्कीका अनुसार रुसी सैन्य उद्योगले वार्षिक करिब १ हजार ३०० वटा ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्न सक्ने क्षमता राख्छ।

युक्रेनले लामो दूरीसम्म प्रहार गर्न सक्ने ड्रोन र आफ्नै क्रुज क्षेप्यास्त्र विकास गरेको तथा त्यसलाई रुसभित्रका विभिन्न लक्ष्यमा प्रयोग गरिरहेको पनि उनले बताए।

स्टारलिंकको प्रयोगमा मस्कको आपत्ति

जेलेन्स्कीले रुसको भूभागको उपग्रह तस्बिर प्राप्त गर्न स्टारलिंकको प्रयोगका लागि अनुमति लिन युक्रेनले प्रयास गरिरहेको पनि बताए। स्टारलिंकका मालिक एलन मस्कले यस्तो कदमले युक्रेनतर्फबाट रुसविरुद्ध ठूलो स्तरको तनाव बढ्न सक्ने चिन्ता व्यक्त गरेको जेलेन्स्कीले बताए।

जेलेन्स्कीका अनुसार मस्क युद्ध अन्त्य गर्ने पक्षमा रहेको तर युद्ध लम्ब्याउने पक्षमा नरहेको बताएका छन्। यस विषयमा अमेरिकी अधिकारीहरूसँग छलफल जारी रहेको उनले बताए।

वार्ताका विषयमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने अवसर आगामी वर्षको गर्मीयामसम्म रहेको बताएका छन्। त्यसपछि अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अभियान सुरु हुने भएकाले त्यसअघि नै समाधान खोज्नुपर्ने उनको संकेत थियो।

अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरले युक्रेनले डोनबासबाट सेना फिर्ता लिनुपर्ने वा युक्रेनका लागि अस्वीकार्य अन्य सर्त स्वीकार गर्नुपर्ने अवस्था नआउने गरी रुसलाई युद्ध अन्त्य गर्न सहमत गराउने उपयुक्त ढाँचा खोज्न कठिन भइरहेको जेलेन्स्कीले बताए।

उनका अनुसार अमेरिकी अधिकारी र युक्रेनी पक्षबीच युद्ध अन्त्यका सम्भावित विकल्पलाई एउटै पृष्ठमा समेटेर रुस र अमेरिकासँग छलफल गर्ने सहमति भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७