बाढीको कहरः २०० बढी विद्यार्थी सम्पर्कविहीन, २० विद्यार्थी बगेको पुष्टि
काठमाडौं : नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोले रसुवा, नुवाकोटसहित तीन जिल्लाका कम्तीमा १९ विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी–पहिरोका कारण विशेषगरी रसुवा र नुवाकोटका विद्यालयमा ठूलो क्षति पुगेको छ। प्रभावित विद्यालयका २०० भन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
बाढीमा परी कम्तीमा २० विद्यार्थी बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयमा कार्यरत शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढी तथा पहिरोले कम्तीमा नौ विद्यालयका भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने सात विद्यालयमा आंशिक क्षति पुगेको छ।
रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयमा मात्रै दुई हजार ४२५ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। तीमध्ये केही विद्यालय लेदोले पुरिएका छन् भने केही संरचना बाढीले बगाएको जनाइएको छ। यसैबीच, एउटा विद्यालयले आफ्ना विद्यार्थी बोकेको स्कुल बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ।
बाढी–पहिरोबाट शैक्षिक क्षेत्रमा पुगेको क्षतिको थप विवरण संकलन तथा प्रभावित विद्यार्थी र शिक्षकको अवस्थाबारे जानकारी लिने काम भइरहेको मन्त्रालयले जनाएको छ।
.gif)

.png)

