बेनी हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट भइसकेको छ।
यस्तै, कम्पनीले २० हजार ८०० कित्ता सेयर कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागअनुसार सम्पूर्ण सेयर बिक्री नभएमा निष्कासन अवधि असोज ५ गतेसम्म लम्बिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ।
.gif)

.png)

