प्रधानमन्त्री शाहको मलेसियाली समकक्षीलाई आग्रह: मलेसियाको रोजगारीमा सिन्डिकेट हटाउनूस्
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग मंगलबार बिहान टेलिफोन वार्ता गरेका छन् । वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलियातन्त्रप्रति आफू र आफ्नो सरकार असन्तुष्ट रहेको स्पष्ट पारेका छन् ।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ शाहले इब्राहिमसँग भनेका छन्, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक र अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन् ।
शाहको प्रस्तावप्रति सकारात्मक धारणा राख्दै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोधमा रहेको बताएका छन् । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमले भनेका छन् ।
.gif)

.png)

