वर्षाले ४८३ मेगावाट विद्युत् उत्पादन बन्द

प्रसारण तथा वितरण संरचनामा क्षति


२०८३ असोज ११ आइतबार १२:२५ बजे

काठमाडौं :  अविरल वर्षासँगै आएको बाढीपहिरो, हावाहुरी र चट्याङले देशभरका विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुर्‍याएको छ। क्षतिका कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै विभिन्न जलविद्युत् आयोजनाबाट हुने करिब ४८३ मेगावाट उत्पादन रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीपहिरोले २२०, १३२, ३३ र ११ केभीका प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, कालीगण्डकी करिडोरकै कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समस्या आएपछि उक्त करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी र २० मेगावाटको नामार्जुन मादीलगायत आयोजनाको उत्पादन बन्द भएको छ।

मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइनमा क्षति पुर्‍याएपछि प्राविधिक टोली परिचालन गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको विवरण संकलन, विद्युत् अवरुद्ध क्षेत्रको पहिचान र मर्मतका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएका छन्।

‘प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘अवरुद्ध क्षेत्रमा वैकल्पिक फिडर तथा उपलब्ध अन्य संरचनामार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ।’

भारी वर्षा र सडक अवरुद्ध हुँदा दुर्गम क्षेत्रका कतिपय स्थानमा प्राविधिक टोली पुग्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ। पहुँचमार्ग खुल्नासाथ मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिने श्रेष्ठले बताए।

प्राधिकरणले विपद्का बेला ढलेका पोल, चुँडिएका तार तथा क्षतिग्रस्त विद्युत् संरचनानजिक नजान र संयमित रहन उपभोक्तालाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७