इस्तानबुलमा बाढी : तीनको मृत्यु, पाँच बेपत्ता

३ हजारभन्दा बढीको उद्धार


२०८३ असोज ३० शुक्रबार ०९:२४ बजे

काठमाडौं : टर्कीको इस्तानबुलमा भीषण वर्षापछि आएको बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। बाढीले सडक तथा बस्ती जलमग्न बनाएपछि हजारौँ मानिस प्रभावित भएका छन्। उद्धारका लागि स्थानीय प्रशासनले आपत्कालीन प्रयास तीव्र पारेको छ।

बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले इस्तानबुलको जनजीवन प्रभावित भएको हो। सायरियर जिल्लाको आयाजागा क्षेत्रमा बाढीले बगाएको एक व्यक्तिको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको अधिकारीहरूले जनाएका छन्।

यसअघि पानी जमेको स्थानमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु भएको थियो भने बाढीमा बगेर ३४ वर्षीय एक व्यक्तिको ज्यान गएको थियो। बाढीका कारण पाँच जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको जनाइएको छ।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्ट्सीका अनुसार सहरका केही क्षेत्रमा प्रतिवर्ग मिटर २७२ किलोग्रामसम्म वर्षा रेकर्ड गरिएको छ। भारी वर्षापछि आपत्कालीन सेवा केन्द्रमा उद्धारका लागि ८ हजार ८१५ वटा फोन आएका थिए।

बाढीले सहरका प्रमुख सडक डुबानमा परेपछि सवारी आवागमन प्रभावित भएको छ। कतिपय बासिन्दा आफ्नै घरभित्र थुनिएका थिए। इस्तानबुलका गभर्नर दाभुत गुलका अनुसार बाढीमा फसेका ३ हजार ५० जनाको उद्धार गरिएको छ।

पत्रकार सम्मेलनमा गभर्नर गुलले बाढीमा फसेर उद्धारको प्रतीक्षामा रहनुपर्ने अवस्था अहिले नरहेको दाबी गरेका छन्। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सहरभरिका विद्यालय शुक्रबारसम्म बन्द गरिएको छ।

मौसम पूर्वानुमान निकायले थप सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार बिहानदेखि पुनः वर्षा सुरु भएर शनिबारसम्म जारी रहन सक्ने चेतावनी दिइएको छ। बाढी प्रभावित क्षेत्रमा टर्कीका अधिकारीहरूले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७