किम जोङ उन अचानक चीनमा

किम चीन र उत्तर कोरियालाई जोड्ने नयाँ अम्नोक नदी पुल हुँदै चीन प्रवेश गरेका हुन्।


२०८३ कार्तिक ९ आइतबार ००:२२ बजे

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन पूर्वघोषित कार्यक्रमबिनै चीन पुगेका छन्। चीन र उत्तर कोरियाबीचको सीमावर्ती सहर दान्दोङ हुँदै चीन प्रवेश गरेका किमको भ्रमणले दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय कूटनीतिक समीकरणबारे नयाँ चासो उत्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, एएफपी तथा दक्षिण कोरियाली समाचार संस्था योन्हापका विवरणअनुसार किम शनिबार, अक्टोबर २४ मा चीन पुगेका थिए। उनको भ्रमणको पूर्वजानकारी सार्वजनिक गरिएको थिएन। चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि भ्रमणका गतिविधिबारे विवरण सार्वजनिक गरेका छन्। किमको भ्रमणको उद्देश्यबारे भने दुवै देशले विस्तृत जानकारी दिएका छैनन्।

किम चीन र उत्तर कोरियालाई जोड्ने नयाँ अम्नोक नदी पुल हुँदै चीन प्रवेश गरेका हुन्। करिब तीन किलोमिटर लामो यो पुलले चीनको लियाओनिङ प्रान्तस्थित दान्दोङ सहर र उत्तर कोरियाको सिनुइजु सहरलाई जोड्छ। सन् २०१४ मै निर्माण सम्पन्न भएको यो पुल लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन। गत अक्टोबर १५ मा यसको औपचारिक उद्घाटन गरिएको थियो।

नयाँ पुल सञ्चालनमा आएसँगै दुई देशबीच व्यापार, सामान ढुवानी र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक कठिनाइको सामना गरिरहेको उत्तर कोरियाका लागि चीनसँगको व्यापारिक सम्बन्ध अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङले किमलाई दान्दोङमा स्वागत गरेका थिए। वाङ चीनको शीर्ष राजनीतिक परामर्श निकायका प्रमुखसमेत हुन्। चिनियाँ विवरणअनुसार उनले दुई देशबीचको ऐतिहासिक मित्रता थप सुदृढ बनाउनुपर्ने, राजनीतिक विश्वास बढाउनुपर्ने तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका थिए।

किमले चीनको भ्रमणका क्रममा औद्योगिक गतिविधिमा समेत चासो देखाएका थिए। चिनियाँ सरकारी विवरणमा उनले एउटा सवारीसाधन उत्पादन गर्ने कारखानाको भ्रमण गरेको उल्लेख छ। भ्रमणका क्रममा चीन र उत्तर कोरियाबीच कुनै नयाँ आर्थिक सम्झौता भएको वा महत्त्वपूर्ण राजनीतिक सहमति जुटेको विवरण भने सार्वजनिक भएको छैन। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग किमको भेट भएको पनि पुष्टि भएको छैन।

किमको भ्रमण अक्टोबर २५ मा मनाइने कोरियाली युद्धमा चिनियाँ सेना प्रवेश गरेको वार्षिकोत्सवको अघिल्लो दिन भएको हो। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धमा चीनले उत्तर कोरियाको पक्षबाट दक्षिण कोरिया र अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय सेनाविरुद्ध लडेको थियो। युद्धमा मारिएका चिनियाँ सैनिकको स्मृतिसँग सम्बन्धित कार्यक्रमले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप महत्त्व दिएको छ।

पछिल्ला वर्षमा उत्तर कोरियाले चीनसँगै रुससँग पनि आफ्नो सम्बन्ध विस्तार गरेको छ। रुस–युक्रेन युद्धपछि प्योङयाङ र मस्कोबीच सैन्य तथा रणनीतिक सहकार्य बढेको छ। यस्तो अवस्थामा चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु किमका लागि आर्थिक र कूटनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। चीन उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार मात्र नभई अन्तर्राष्ट्रिय दबाबका बीच उसको महत्त्वपूर्ण कूटनीतिक सहयोगीसमेत हो।

किमको चीन भ्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित वार्ताको चर्चा पनि भइरहेको छ। चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनका क्रममा ट्रम्प सहभागी हुने अपेक्षा गरिएको छ। यसअघि ट्रम्पले किमसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए। केही विश्लेषकले किमको चीन भ्रमणलाई सम्भावित अमेरिका–उत्तर कोरिया वार्ताअघिको कूटनीतिक तयारीका रूपमा हेरेका छन्। तर किम र ट्रम्पबीच भेटवार्ता हुने विषयमा आधिकारिक पुष्टि भएको छैन।

उत्तर कोरियाको आणविक कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरियाली प्रायद्वीपमा बढ्दो सैन्य तनावका कारण किमको कूटनीतिक गतिविधिलाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ। यसपटकको आकस्मिक चीन भ्रमणले पनि बेइजिङ र प्योङयाङबीचको सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय शक्ति सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ। यद्यपि भ्रमणको वास्तविक उद्देश्य र यसबाट हासिल भएका उपलब्धिबारे थप आधिकारिक विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७