मलेसिया ठगी प्रकरणमा सभामुखमाथि छानबिन गर्न वर्षमान पुनको माग
काठमाडौं : नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारी ठगी प्रकरणको अनुसन्धान निष्पक्ष नभएको भन्दै तत्कालीन श्रममन्त्री डीपी अर्यालमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् ।
हाल सभामुख रहेका अर्यालमाथि अनुसन्धान नगरिएको भन्दै उनले सरकारको छानबिन प्रक्रियामाथि प्रश्न उठाएका हुन् । बिहीबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारले आफूनिकट व्यक्तिलाई उन्मुक्ति दिएर आफूभन्दा फरक मत राख्नेहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउन खोजेको आरोप लगाए ।
उनले उक्त प्रकरणमा विभिन्न समयमा सात जना मन्त्री जिम्मेवारीमा रहेको उल्लेख गर्दै ठगी प्रक्रिया सुरु हुँदा जिम्मेवारीमा रहेका मन्त्री र बीचका अन्य मन्त्रीहरूमाथि पनि छानबिन हुनुपर्ने बताए ।
‘त्यो बीचमा सातजना मन्त्री भएको देखिन्छ । तर, जसलाई फसाउन खोजियो, त्यसको नाममात्रै छानेर कारबाही गरेको देखिन्छ । सुरु गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन,’ नेता पुनले भने, ‘आफ्नै पार्टीको तर्फबाट अहिले सभामुख हुनुभएका व्यक्ति त्यो बेला मन्त्री हुनुहुन्थ्यो ।’
सरकारले फरक मत राख्ने व्यक्तिलाई मात्र छानेर कारबाही गर्न खोजेको उनको आरोप छ । यस्तो कार्यलाई सुशासन भन्न नमिल्ने भन्दै पुनले अनुसन्धान प्रतिशोधपूर्ण र निर्देशित देखिएको टिप्पणी गरे ।
‘यो सुशासन होइन । यो निर्देशित छानबिन या निर्देशित ढङ्गले प्रतिशोध लिने रूपमा गइराखेको छ,’ उनले भने ।
निजी क्षेत्रमा समेत पुराना राजनीतिक दल वा नेतासँग निकट भएकै आधारमा व्यक्तिहरूलाई तर्साउने काम भइरहेको पुनको दाबी थियो ।
.gif)

.png)




