निजामति कर्मचारी वर्गलाई खुशीको खबर, अब दुर्गम नगए पनि बढुवा
काठमाडौं, २७ जेठ । नयाँ बजेटले भर्खरै तलव वृद्धि गरेका बेला निजामति कर्मचारीहरुका लागि फेरि अर्को खुशीको खबर थपिएको छ । अब कर्मचारीले दुर्गम क्षेत्रमा सेवा नगरे पनि बढुवा पाउने भएका छन् । सरकारले निजामती कर्मचारीले बढुवा हुन दुर्गममा सेवा नगरे पनि हुने गरी नयाँ विधेयक ल्याएको छ ।
संसदको राज्य व्यवस्था समितिमा विचाराधीन संघीय निजामती सेवासम्बन्धी विधेयकले सुगममा काम गर्ने कर्मचारीलाई थप सुविधा दिने प्रस्ताव गरेको छ । विधेयकको दफा ३४ को उपदफा ‘घ’ को संशोधित व्यवस्थाअनुसार काठमाडौंलगायत सुगममा मात्रै काम गरेर पनि कर्मचारीहरुले १० वर्षमै बढुवा पाउने भएका छन् ।
यसअघिको निजामती ऐनले काठमाडौंलगायत सुगम ठाउँमा काम गर्ने कर्मचारीलाई वार्षिक १.२५ अंक दिंदै आएकोमा विधेयकमा १.६ अंक दिने प्रस्ताव गरिएको छ । यसको अर्थ अब निजामती कर्मचारीले काठमाडौंमै बसेर नै १० वर्षमा बढुवा हुन आवश्यक पर्ने न्यूनतम १६ अंक प्राप्त गर्ने छन् ।
यसको दीर्घकालीन असर हिमाली र कर्णालीलगायत दुर्गम ठाउँमा जाने कर्मचारीलाई पर्ने जानकार बताउँछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेकै अवस्थामा पनि हिमाली जिल्लामा आवश्यकताभन्दा ५० प्रतिशतभन्दा कम र पहाडी जिल्लामा ६० प्रतिशत कम कर्मचारी छन् । सरकारले पेश गरेको विधेयक संसदले जस्ताको त्यस्तै पास भएको खण्डमा कालान्तरमा हिमाली र पहाडी जिल्ला जाने निजामती कर्मचारी पाउन हम्मे पर्न सक्ने खतरा पनि देखिएको छ ।
निजामती सेवा ऐन २०४९ अनुसार अधिकृतदेखि सहसचिवसम्म यस्तो अंकका आधारमा बढुवा हुन पाइन्छ । २०४९ को ऐनले अति दुर्गम क्षेत्रमा खटिने कर्मचारीलाई वार्षिक ४, दुर्गममा काम गर्नेले ३.२५, सुविधायुक्त ठाउँमा काम गर्ने कर्मचारीले २.५० र सुविधा सम्पन्न ठाउँमा काम गर्ने कर्मचारीले १.२५ अंक पाउने व्यवस्था गरेको थियो । अहिलेको विधेयकमा अन्य ठाउँको अंक पहिलाको जस्तै राखिएको छ भने सुगमका काम गर्नेको मात्र वार्षिक ०.३५ अंक बढाइएको छ ।
त्यो व्यवस्थाअनुसार १० वर्षभित्रै बढुवा पाउन कम्तिमा २ वर्ष दुर्गम या अति दुर्गम क्षेत्रमा काम गर्नुपर्ने हुन्थ्यो । निजामती कर्मचारीले बढुवाका लागि पाउने १६ अंक दुर्गममा काम गरेबापत् १० वर्षमा र सुगममा काम गरेबापत् १३ वर्षमा पाउने प्रावधान थियो । यही प्रावधानअनुसार दुई वर्ष छिटो बढुवा लिन भए पनि कर्मचारी दुर्गममा जाने गरेका थिए ।
.gif)

.png)

