एमाले नेता रिजालको टिप्पणी : कांग्रेस नेताहरूको ‘झ्यारझ्यार’ श्रवणीय छैन
काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस नेताहरूको ‘झ्यार–झ्यार’ श्रवणीय नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) साँझ उनले फेसबुकमा लेखेका छन्, ‘कांग्रेसका केही जिम्मेवार साथीहरूले एमालेका बारेमा बीचबीचमा झ्यारझ्यार गरिरहेको त्यति श्रवणीय छैन ।’
अगाडि उनले भनेका छन्, ‘एमाले र कांग्रेसको सरकार छ । दुई पार्टीका अध्यक्षहरूबीच उच्चस्तरको समझदारी छ, दुई पार्टीका बीचमा उच्चस्तरीय राजनाीतिक संयन्त्र बनेको छ ।’
यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनभित्रको गणितका कारण संविधान संशोधन तत्कालै सम्भव नरहेको बताएको रिजालले बताएका छन् । यसबारे बुधबार सत्ता साझेदार नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिप्पणी गरेका थिए । यसपछि रिजालले यस्तो टिप्पणी आएको हो ।