घनश्याम भुसालको प्रस्ताव : पार्टी निर्माणका लागि शानदार जनप्रदर्शन गरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले पार्टी निर्माणका लागि काठमाडौंमा शानदार प्रदर्शनको प्रस्ताव राखेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा अबको करिब ४-५ महिनामा काठमाडौंमा शानदार जनप्रदर्शन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
प्रस्तावमा भनिएको छ, ‘हाम्रो जनप्रदर्शन परम्परागत रूपमा काठमाडौंमा एउटा सभा गर्ने र बिदा हुने खालको मात्रै हुने छैन । हामीले उठाएका मागहरूलाई तिनको औचित्य, ती विषयमा विगतका प्रयासहरू, अरु मुलुकसँग तुलना आदि तथ्य तथ्याङ्कमा तयार गरेर प्रदर्शन गर्ने, विभिन्न क्षेत्रका अगुवाहरूको समर्थन प्राप्त गर्ने र सरकारलाई ज्ञापनपत्र दिनेजस्ता क्रियाकलापहरू गरिनेछ ।’
काठमाडौंमा जनप्रदर्शन गर्दा सङ्गठनका क्षेत्रमा धेरै ठूलो उपलब्धि हासिल नगरे पनि काठमाडौंको जनप्रदर्शनमा राष्ट्रका सामु पेस गरिने नेपाल निर्माणको कार्ययोजनाका पक्षमा जनमत निर्माण गर्न फेरि ६ महिना जनतामा जाने कार्यक्रमका अगाडि बढाउनुपर्ने उल्लेख छ ।