पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औं बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौं सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा डा ब्रम्हदेव झालाई मनोनयन गरेको छ ।
प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुको विद्यमान तलव भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मरुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए । उनले दीर्घकालीन र आर्थिकरुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे ।