म चाहन्छु ०८४ मा पनि कांग्रेस र एमाले मिलून् : प्रचण्ड
2025-02-21-16-18-54.jpg)
पोखरा । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।
आज (शुक्रबार) पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । भेलामा प्रचण्डले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ’रिजर्भेसन’ राखेका छौं । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौं । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौं । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’
उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिए। “अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु– उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौं । हामी जनताको तागतमा विश्वास गर्छौ । जनतालाई मेरो अपील छ–तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्’, अध्यक्ष प्रचण्डले भने ।
उनले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । उनले भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौं । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौं । यसमा दह्रोसँग उभिन्छौं ।’