रत्न माध्यमिक विद्यालय भवन जीर्ण : आश्वासन आउँछ, काम हुँदैन


२०८१ फाल्गुण १० शनिबार २०:१५ बजे

–राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ । 

विद्यालयमा रहेका आठ  भवनका १२ कक्षा कोठा मध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रद्यानाअध्यापक शेरबहादुर सार्कीले बताए । वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनले बताए । उनका अनुसार हिउद र गर्मीका बेला पानी नपर्दा सम्म भवन प्रयोग गर्न सकिने भएपनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन ।

‘विद्यार्थीका लागि बस्नका लागि पर्याप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुटने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन’, उनले भने, ‘पुराना विद्यालय भवनका झयाल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अबस्थामा छन, सौचालय पुराना र निकै जिर्ण हुदा प्रयोग गर्न लायक छैनन् ।’

 खानेपानीको पाईप विद्यालय सम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ९० प्रतिशत जनजाती र दलित समुदायका रहेका छन । दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन ।

अभिभावकको आर्थिक अबस्था दयनिय हुदा विद्यालया भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाई रहेको छ ।  विद्यालयमा कुल विद्यार्थीको संख्या पाँच सय ५५ रहेको छ । ती मध्ये ६० प्रतिशत छात्रा रहेका छन । नियमित विद्यालय आउने विद्यार्थीको संख्या ७० प्रतिशत रहेको छ ।

बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउँछन् । आर्थिक विपन्नताका कारण धेरैजसो अभिभावकहरु घरायसी गर्जो टार्नका लागि भारत तर्फ जाने भएकाले केही बालबालिका बृद्ध बाजे बज्यै संग बस्ने गरेका छन । 

केही अभिभावकले विचमै पढाई छुटाएर बालबालिकालाई आफु सगै काम गर्नका लागि लैजाने गरेका छन । वीचमै कक्षा छाडने विद्यार्थीको संख्या २० प्रतिशतको हाराहारीमा रहेको छ । बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थित नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाए । विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोशाक वर्ष भरी लगाउनु पर्ने अबस्था रहेको छ ।

विद्यालयका शिक्षकहरु भन्छन्, ‘विद्यालयको अबस्था बारे नगरपालिका कार्यालय र वडा कार्यालयमा अवगत गराए पनि समस्या अझै सम्म समाधान हुन सकेको छैन, अश्वासन पाईने गरेपनि विद्यालयका भौतिक पूर्वाधार सुधारमा ध्यान दिइएको छैन ।’ विद्यालय भवन निर्माणका लागि प्रदेश सरकाले दिने भनिएको रु २० लाख रकम विद्यालयको स्वामित्वको जग्गा नहुदा नगरपालिकामार्फत वित्तीय स्तान्तरण गरी उपलव्ध गराउने भएको छ ।

भवन बन्ने नबन्ने के हुने हो भन्ने बारे निक्र्यौल हुन नसकेको शिक्षकहरुको भनाई रहेको छ । विद्यालयमा माध्यमिक तहका एक र आधारभूत तह( प्राथमिक तह)का छ जना गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन ।  राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक विद्यालयमा कार्यरत रहेका छन । विद्यालय विसं २०३९ सालमा स्थापना भएको हो । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७