देउवासँग भेटेपछि आफू निकट नेताहरुलाई सिटौलाको ‘ब्रिफिङ’

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति टुंगो लागिनसक्दै संस्थापन पक्षबाट नेतृत्वको आकांक्षी कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आज आफू निकटका नेताहरुसँग निवासमै बोलाएर छलफल गरेका हुन् ।
भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भुपेन्द्र राई, पूर्व मन्त्री भिमसेनदास प्रधानलगायत नेताहरु सहभागी थिए । पार्टीका नेताहरुबीच भेटघाट भएको भेलामा सहभागी नेता प्रधानले बताए।सिटौला आगामी महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको उत्तराधिकारी तोक्न गत शुक्रबार बूठानीलकण्ठ पुग्ने ११ भाइमध्येका एक हुन् । नेता सिटौला संस्थापन पक्ष एकजुट भएर जानुपर्छ भन्ने पक्षमा रहेका भिमसेनदास प्रधानले बताए ।
उनले भने, ‘सभापतिले अब फेरि नउठ्ने भनेपछि कृष्ण दाइले सबै एकजुट भएर जानुपर्छ भन्नेमा हुनुहुन्छ । अब देउवा दाइले नै संस्थापन पक्षबाट अबको नेतृत्व तोक्ने हो । उहाँले तोकेका नेतृत्व सबैले स्वीकारेर अघि बढ्नु हुन्छ ।’ उनले नेता सिटौलाले नेतृत्वको दाबी गर्नु स्वभाविक भएको बताएका छन् । तर, देउवाले आफ्नो उत्तराधिकारीबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
अहिले कांग्रेसमा देउवाको आशीर्वाद पाउने दौडमा सिटौलासहित उपसभापति पूर्णबहादुर खड्का, १४औं महाधिवेशनमा सभापति उम्मेदवार भएर देउवालाई सघाएका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला छन् ।
पूर्व महामन्त्री समेत रहेका सिटौलाले १३औं महाधिवेशनमा सभापति उम्मेदवार भएपनि देउवालाई सघाएता निरन्तर साथ दिँदै आएका छन् । यद्यपी, कांग्रेसको १५ औं महाधिवेशन आगामी निर्वाचनपछि गर्ने सभापति देउवाले आशय देखाएका छन् । देउवाको आशयपछि इतर पक्षका नेता शेखर कोइरालाले पनि आज आफू निकटका नेताहरुसँग छलफल गरेका थिए । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सञ्जय गौतमलगायत नेताहरु सहभागी छन् । नेता कोइरालाले ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन् ।