बागमती गोल्ड कप : थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा


२०८१ फाल्गुण १० शनिबार ०२:२८ बजे

मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । 

आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३७औं मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियमले पहिलो गोल गरेका हुन् । त्यस्तै, ४२औं मिनेटमा मच्छिन्द्र फुटबल क्लबका शिशिर लेखीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 

मच्छिन्द्रका समीरराज थोकरले दोस्रो हाफको ५१औं मिनेटमा गोल गर्दै अग्रता कायम राखेसँगै खेलको ८८औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल थप्दै ३–१ अन्तरमा थ्री स्टार पराजित गरेका हुन् । आजको खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् । उनलाई गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले नगद रु १० हजार प्रदान गरेका थिए । 

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज युनाइटेड विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेल यही फागुन १२ गते दिउँसो २ बजे चर्च ब्वाइज र मच्छिन्द्र क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७