एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था (एनजीओ) सँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको बताएका हुन् ।
‘नेपालमा सञ्चालित गैरसरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ’ उनले लेखेका छन्, ‘त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्योभन्दा निकै फरक छ ।’ पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग रहेको जिकिर गरेका छन् ।
एनजीओ र एमाले सम्बन्धबारे पोखरेलको भनाइ
नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ। त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्योभन्दा निकै फरक छ। बलबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यतिबेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियो :
मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैरसरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिशतभन्दा वढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकि उनीहरूमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन । मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा एमालेको मुल नेतृत्वको कुरा छ–त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।