आवश्यकता अनुसार प्रदेश थपघट गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार प्रदेश थपघट गर्न सकिने बताएका छन् । उनले सात प्रदेश बढेर ९ वटा हुनसक्ने र घटेर ५ वटा हुन सक्ने पनि बताए ।
आज (शनिबार) प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्ष सुधार र हेरफेर हुनसक्ने बताए । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ छ । उनले देश, विकास र जनताको आवश्यकतानुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्छन् । सात वटा प्रदेश ९ वटा पनि हुन सक्छन्, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छन् । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो ।’
प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताएका छन् । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए । उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए । प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर गरे ।