हाम्रो भाषा ‘ओ ड्याड कम हियर’ भने जस्तो होइन : प्रधानमन्त्री
‘सरकारले कसैको वाक स्वतन्त्रता मिच्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैको अभिव्यक्ति स्वतन्त्रता नमिच्ने बताएा छन् । आज (शुक्रबार) ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
‘वाक स्वतन्त्रता र अभिव्यक्तिमा कुनै प्रकारको बन्देज लगाइने छैन । हामी त बोल्न नपाइने समयसँग लडेर आएका हौं नि ! कसैको पनि अधिकार मिचिँदैन । हामीले बनाउने कानूनले कसैको पनि अधिकार मिचिँदैन । म पनि हिँड्छु, तपाईं पनि हिँड्नुस्, म हिँड्न पाउँछु, तपाई पाउनु हुन्न भन्न पाइँदैन, मुक्कामुक्की गर्न पाइँदैन । सबैको अधिकार बराबर हो,’ उनले भने ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले मिडियाले प्रयोग गर्ने भाषामा असन्तुष्टि जनाएका छन् । मिडियामा बोल्दा र लेख्दा–छाप्दा फरक भाषा हुने गरेको उनले बताए । ‘हाम्रो भाषामा सभ्यता छ । हाम्रो भाषा ओ ड्याड कम हियर भने जस्तो होइन । राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो भन्नु भयो भन्न सकिँदैन । तर, हामीले भने भने भनिन्छ,’ उनले भने । उनले भने, ‘के हामी राष्ट्रपतिलाई भेट्दाखेरि राष्ट्रपति तिमीलाई कस्तो छ भनिन्छ त ? सम्माननीय ज्यू तपाईंलाई कस्तो छ भनिन्छ नि । त्यही भाषा छाप्नु पर्यो नि । तर, हेर्नुस् त पत्रिकाहरू कसरी लेख्छन् ।’