म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

काठमाडौं । म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको जानकारी दिएको छ । दूतावासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल फर्काएको जनाएको हो ।
उद्धार गरी नेपाल फर्काइएका पाँच जनामा चार पुरुष र एक महिला छन् । ‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँचजनालाई आज (फागुन ९) गतेका दिन नेपाल फर्काइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । ‘कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमार्फत दूतावासले भनेको छ ।