प्रथम महिला शाक्यले भनिन्–ओली जति सक्रिय र मेहनती मान्छे छैनन्

काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र मिहिनेतको प्रशंसा गरेकी छन्। आज (शनिबार) काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले ओलीसँग विहे गर्नुको कारणदेखि जीवनकालका विभिन्न किस्साहरुको खुलासा गर्दै कतिपयले ओलीलाई अल्छी भनेर गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।
शाक्यले सामाजिक सञ्जालदेखि समाकालीन केही नेताहरुले ओलीलाई होच्याएर र लाञ्छानाहरु लगाएर गरेका टिप्पणीप्रति दुःख व्यक्त गरिन् । विनयशीलता र करुणाभावका हिसाबले सधैं शिष्ट रुपमा प्रस्तुत हुने राधिका शाक्यले आफूलाई लेख्न जस्तो बोल्न आउँदैन भन्दा भन्दै पनि थोरै शब्दमा धेरै भावहरु व्यक्त गरिन् । ओलीप्रति विगतमा उनका समकालीन केही नेताले गरेका अपमानजनक टिप्पणीदेखि अचेल सामाजिक सञ्जालबाट हुने गरेका प्रहारको भद्र प्रतिवाद गरिन् ।
ललितपुरको पाटनका नेवारको छोरी राधिकाले करुणा भावनाकै कारण धेरै चुनौतिका बाबजुद आफूले ओलीसँग विहे गरेको खुलाइन् । ओली मन्त्री वा प्रधानमन्त्री हुन्छन् भनेर आफूले विहे नगरेको भन्दै उनले आफ्नो ३३ वर्ष लामो राष्ट्र बैंकको सेवाबापत प्राप्त गरेको सुविधाबाट बनाएको घरलाई समेत बालकोट दरवार भनेर अनर्गल प्रचार गर्नेहरुलाई एक एक हिसाब देखाउन तयार रहेको शाक्यले बताइन् ।
ओलीलाई केही ठूलै नेता भन्नेहरुले भैंसी गोठालो र गोठालोको छोरा भनेर हेपेर अन्तर्वार्ता दिएको स्मरण गर्दै शाक्यले एउटा भैंसी गोठालोसँग विहे गरेकामा आफूलाई गर्व लागेको भनेर त्यतिबेलै लेखेको बताइन् । केपी ओलीलाई माधव नेपाललगायतका केही नेताले अल्छी भनेर गरेका टिप्पणीको समेत प्रतिवाद गर्दै शाक्यले विहान साढे ४ बजेसम्म काममै व्यस्त हुने गरेका ओली विश्वकै सक्रिय नेतामा पर्ने जवाफ दिइन् ।
शाक्यले भनिन्, ‘उहाँलाई पहिलेदेखि नै पनि मन नपराउने मान्छेले केपी ओली भनेको एकदम अल्छी मान्छे हो, एउटा सिन्को पनि यताबाट उता नसार्ने मान्छे भन्ने गर्थे । हाल पनि मैले ती कमेन्टहरुमा यो कुराहरु देख्छु । र, मलाई चाहिँ भन्न मन लागेको छ, हिजो विहानदेखि आज विहान साढे ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त रहनु भएको थियो, उहाँ कोठामा आउँदा साढे चार बज्यो । सायद सुत्दाखेरी विहान ५ बजेको थियो । उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने आ आफ्नो परिभाषा होला । मेरो परिभाषा त उहाँ जस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला । उहाँको जीवनमो आधा समय ३७-३८ वर्ष त उहाँको जीवन हेर्दै आएको साक्षी म हो नि, मैले जति त उहाँलाई कसले बुझेको होला र ? मान्छेहरुले कमेन्ट गर्न पायो भन्दैमा होच्याउन पायो भन्दैमा एउटा कुनै पनि हिसाबले अलिकति पनि नमिल्ने ढंगले त्यसरी कमेन्ट गर्न ठिक छ जस्तो मलाई लाग्दैन ।’