‘जयन्दु बाल सुधार गृह’ झडप अपडेट : ४९ बालबन्दी अस्पताल भर्ना


२०८१ चैत २ शनिबार ००:०२ बजे

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’ मा भएको झडप र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन् । उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ ।शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियाे । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो । 

‘शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन्,’ उनले भने, ‘यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन् । केहीले टाउको दुख्यो र अप्ठ्यारो भयो भनेर बताएपछि उनीहरूलाई पनि अस्पताल पुर्‍याइएको छ।’ गम्भीर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले बताए ।

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा प्रहार गरेका थिए । यसबाट ३ जना प्रहरी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो । त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कुटाकुटका क्रममा ५–६ जना बालबन्दी भागेका थिए, तर पछि उनीहरू आफैं सम्पर्कमा आएको प्रजिअ जोशीले जानकारी दिए । उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए । आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । ‘क्षतिका कारण ७०–८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ,’ जोशीले भने, ‘पछि कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७