गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् । ‘नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीजीले समितिको संयोजकमा अर्थमन्त्रीलाई तोक्नुभएको छ,’ एक मन्त्रीले भने । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिँदैछ । उनको कार्यकाल सक्ने भएपछि सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको ती मन्त्रीको भनाइ छ ।