बस्तीमा ४८ वटा कलधारा निर्माणपछि हरायो पानीको हैरानी

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसंख्या बसोबास गर्दै आएका छन् । गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।
‘दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन् । अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उनको भनाइ छ । ‘हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपर्थ्याे । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो’, विगतलाई स्मरण गर्दै सदायले भनिन्, ‘अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उहाँहरूलाई धन्यवाद ।’
यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताइन् । उनले भनिन्, ‘त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।’ यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उनले सुनाइन् । यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालिस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिइन् । उनका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन्। त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् ।
यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलले बताए । उनले भने, ‘यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।’ संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको रु ३० देखि रु ६० हजारसम्म लागत रहेको उनको भनाइ छ ।
संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तिकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस