तीन वायुको प्रभाव : चार प्रदेशमा मेघगर्जनसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (बिहीबार) दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपाल भित्रिएको एक साता बितिसक्न लाग्दा पनि मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन । यसपालि समय अगावै भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशको अधिकांश भू–भागमा मात्रै छ । मनसुनका लागि अनुकूल वातावरण तयार नभएका कारण यो अन्य भू–भागमा फैलन नपाएको मौसमविदले जनाएका छन । अन्य भू–भागमा अझै स्थानीय र पश्चिमी वायुको प्रभाव छ।